Section 21
सञ्चालक समितिको बैठक
(१) सञ्चालक समितिको बैठक वर्षमा कम्तीमा बाह्र पटक बस्नु पर्नेछ । तर, दुई वटा बैठकको बीचको फरक साठी दिनभन्दा बढी हुने छैन ।  (२) कम्तीमा एक तिहाई सञ्चालकले बैठकमा छलफल गर्नु पर्ने विषय समेत खुलाई लिखित अनुरोध गरेमा अध्यक्षले जुनसुकै बखत सञ्चालक समितिको बैठक बोलाउनु पर्नेछ । (३) अध्यक्षले सञ्चालक समितिको बैठकको अध्यक्षता गर्नेछ । अध्यक्षको अनुपस्थितिमा सञ्चालकले आफूमध्येबाट बहुमतले छानेको सञ्चालकले बैठकको अध्यक्षता गर्नेछ । (४) कुल सञ्चालक संख्याको कम्तीमा एकाउन्न प्रतिशत सञ्चालक उपस्थित नभई सञ्चालक समितिको बैठक बस्ने छैन । (५) सञ्चालक समितिको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिन पाउनेछ । (६) सञ्चालक समितिको बैठकमा उपस्थित सञ्चालकको नाम, छलफल भएको विषय र तत्सम्बन्धमा भएको निर्णयको माइन्युटको छुट्टै अभिलेख राख्नु पर्नेछ र सो अभिलेखमा बैठकमा उपस्थित सम्पूर्ण सञ्चालकले सही गरेको हुनु पर्नेछ । तर सञ्चालक समितिको निर्णयमा कुनै सञ्चालकले फरक मत राख्न चाहेमा सो फरक मत निजले सही गरी निर्णय पुस्तिकामा अभिलेख गर्न सक्नेछ ।